सुर्खेत । नदीजन्य पदार्थ (ढुंगा, बालुवा) उत्खनन् कार्यको नगरपालिकाद्वारा अनुगमन गरिएको छ । विहिबार वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालको नेतृत्वमा वडा नम्बर ११ स्थित झुप्रा खोलामा भईरहेको ढुंगा, बालुवा उत्खनन् कार्यको अनुगमन गरिएको हो ।
नदीजन्य पदार्थ उत्खनन् कार्य नगरपालिकाको मापदण्ड विपरित भए वा नभएको विषयमा स्थलगत अनुगमन गरिएको उपप्रमुख ढकालको भनाई छ । उक्त स्थलगत अनुगमन पश्चात नगरपालिकाले स्वीकृति दिएबमोजिमको कार्य भईरहेको उपप्रमुख ढकालले बताईन् ।
साथै उपप्रमुख ढकालले उत्खनन्का लागि मेशीन चलाउने अनुमति समेत दिएको जानकारी दिईन् ।
स्थानीय बासिन्दाले केही व्यक्तिले व्यवसायीक रुपले विक्रि वितरण गर्ने गरेकोमा आफुहरुले अवरोध गरी उनिहरु (व्यवसायी)को काम रोकेको अनुगमन टोलीलाई जानकारी दिए ।
‘हामीलाई काम गर्न नदिने मनसायले हटाउन विभिन्न प्रयासहरु गर्ने गरिएको छ’ एक स्थानीयले भने, ‘काम गरेर खाने वातावरण नगरपालिकाले सिर्जना गरिदिनुपर्छ, मेशीनबाट हुने उत्खनन् कार्य रोकिनुपर्छ ।’
अनुगमनमा नदीजन्य समितिको संयोजक एवंम् उपप्रमुख ढकाल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल सहित अन्य नगरपालिकाका कर्मचारी, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।