सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरका आगामी सबै योजनाहरु समुदायको सहभागितामा मात्र छनौट गरिने प्रतिबद्धता जनाएका छन् । पारस्परिक जवाफदेहिता ː मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत इन्सेकले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको योजना निर्माण प्रक्रियामा समुदायको सहभागिता क्षमता अभिबृद्धि तालिममा प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख सुवेदीले सबै वर्ग, समुदाय, लिङ्ग, धर्म, क्षेत्र, जातजाति र सिमान्तकृत समुदायको सहभागितामा योजना छनौट गरिए मात्र वीरेन्द्रनगरको समग्र विकासमा टेवा पुग्ने उल्लेख गरे । राजनीतिक भागबण्डा र पहुँचको आधारमा नभै समुदायको आवश्यकताको आधारमा योजना छनौट गरिने चर्चा गर्दै प्रमुख सुवेदीले सबैको सहभागितामा विकास निमार्णका योजना छनौट गरिए मात्र नगरको मुहार फेर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सबै क्षेत्र वर्ग र सिमान्तकृत समुदायको सहभागिता बिना गरिएको योजनाले विकासमा बाधा पुग्ने बताए । संयोजक सुवेदीले वीरेन्द्रनगरको आगामी विकास निमार्णका योजना छनौट प्रक्रियामा सबै समुदायको सहभागितामा जोड दिन सो तालिमको आयोजना गरिएको उल्लेख गरे ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले योजना निमार्ण प्रक्रियामा महिला, बालबालिका, दलित, यौनिक अल्पसंख्यक र सिमान्तकृत समुदायको सहभागिता तथा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकारामढकालले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र समुदायको सहभागिताका बारेमा सहजीकरण गरेका थिए । संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्नकार्यक्रममा वीरेन्द्रनगर नपाका १६ वडाका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।