काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतको राजधानी नयाँ दिल्लीमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । ट्रम्पको सुरक्षा व्यवस्थाका लागि १२ हजारभन्दा बढी सुरक्षाकर्मीहरु तैनाथ छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आतंकवाद अन्त्य गर्ने विषयमा छलफल भएको छ । शान्ति सुरक्षालाई थप मजबुत बनाउन भारतलाई तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण उपलब्ध गराउने सम्झौता भएको छ । तर, त्यही भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तनाव बढेको छ ।
उक्त क्षेत्रमा ट्रम्प पुगेकै दिन सोमबार हिंसात्मक झडप र आगजनी भएको थियो । उक्त हिंसामा सातजनाको मृत्यु भइसकेको छ भने ४८ प्रहरी अधिकारी र ९० सर्वसाधारण घाइते भएका छन् ।
दिल्लीमा भएको हिंसाका विषयमा गृहमन्त्री अमित शाहले मंगलबार दिउँसो १२ बजे उच्चस्तरीय बैठक बोलाएका थिए । उक्त बैठकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका साथै दिल्ली प्रहरीका अधिकारीहरु पनि सहभागी थिए ।
नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गर्न खोज्दा झडप भएको थियो । दिल्लीको उत्तरपूर्वी खजुरी खास क्षेत्रमा जम्मा भएको भीडलाई तितर-बितर पार्न पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रु ग्यास प्रहार गरेलगत्तै नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका जनताले प्रहरी र पत्रकारमाथि ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीहरुले पत्रकारलाई उक्त झडपको तस्बिर तथा भिडियो खिच्नसमेत रोकेका थिए ।
उक्त भिडले निजी च्यानलमा काम गर्ने दुई पत्रकारमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ ।
घाइते भेट्न अस्पताल पुगे केजरीवाल
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्मन्त्री मनीष सिसोडिया सोमबारको झडपमा भएका घाइतेलाई भेट्न जीटीबी अस्पताल पुगेका छन् । यसअघि मुख्यमन्त्री केजरीवाल आफ्ना मन्त्री र पार्टीका नेतासहित राजघाट पुगेका थिए । राजघाट पुगेका मुख्यमन्त्री केजरीवालले भने, “सोमबार भएको हिंसात्मक घटनाप्रति सिंगो मुलुक चिन्तित छ । हामी सबै यहाँ अहिंसाका पूजारी महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्न आएका छौं ।”
केजरीवालले भने- सुरक्षाकर्मीको संख्या कमी भयो
गृहमन्त्री अमित शाहले बोलाएको बैठकमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसाग्रस्त क्षेत्रमा प्रहरीको संख्या कम भएको बताएका थिए । उनले भनेका थिए, “प्रहरीलाई एक्सन लिने अधिकार छैन । उनीहरुलाई लाठी चार्ज गर्ने र हवाई फायरिङ गर्नका लागि पनि माथिको आदेश कुर्नुपर्छ ।”
मुख्यमन्त्री केजरीवालले बाहिरबाट धेरै मानिस हिंसाग्रस्त क्षेत्रमा आएकोसमेत बताएका छन् । उनले सीमा बन्द गर्नुपर्ने मागसमेत गरेका छन् । उनले भने, “सबै धर्मका मानिसले शान्ति बैठक गर्नुपर्छ । जसमा स्थानीय विधायकको पनि सहभागिता हुनुपर्छ ।”
गोकुलपुरीमा मंगलबार पनि आगजनी
नयाँदिल्लीकै उत्तरपूर्वी क्षेत्रको गोकुलपुरीमा सोमबार आगजनी गरिएको थियो भने मंगलबार बिहानै पनि उक्त क्षेत्रमा आगजनी गरिएको छ । गोकुलपुरी मेट्रो स्टेसनमा ढुंगामुढासमेत प्रहार गरेका थिए ।
उत्तरपूर्वी दिल्लीको पिंक मेट्रो लाइन दोस्रो दिन पनि बन्द गरिएको छ । जसमा जाफरवाद, मौजपुर-बाबरपुर, गोकुलपुरी, जौहरी, एन्कलेव, शिव विहार क्षेत्रका मेट्रो स्टेसन बन्द गरिएका हुन् ।