सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उप–कुलपतिका लागि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका व्यक्तिलाई सिफारिस गरिएको छ । विश्वविद्यालयको उप–कुलपतिका लागि सिफारिस तीन जनामध्ये केशरसिंह रानाविरुद्ध सर्वोच्च अदालतमा भ्रष्ट्रचार सम्बन्धि मुद्दा विचाराधीन रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साउन २० गते विश्वविद्यालयको ५ जना डीन सहित १४ जना निलम्वन गर्न कुलपतिलाई निर्देशन दिएको थियो । भौतिक पूर्वाधार निर्माण, खरिद प्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ति र विश्वविद्यालयको कोष सञ्चालनमा भ्रष्टाचार गरेको आरोपमा ५ जना डीन सहित १४ जना निलम्वनमा परेका थिए । निलम्वन पर्नेहरुमध्ये तत्कालिन विज्ञान तथा प्रविधि संकायका डीन केशरसिहं राना पनि निलम्वन भएका थिए । विशेष अदालतले भने उनलाई २०७२ पुस २७ गते सफाई दिएको थियो । अख्तियारले विशेष अदालतको फैसलालाई पुनरावेदन गर्दै सर्वोच्चमा रिट दायर ग¥यो । सो रिटमा रानालाई पनि दोषी बनाइएको छ । यो आधारमा राना उप–कुलपतिको लागि सिफारिस हुन कानूनी अड्चन नभएपनि नैतिकताका आधारमा अयोग्य ठहरिने जानकारहरु बताउछन् ।
डा.उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडी प्रधानमन्त्री समक्ष उप–कुलपतिका लागि नन्दबहादुर सिंह, जनार्दन लामिछाने र केशरसिंह राना गरी तीनजनाको नाम सिफारिस गरेको थियो । हाल विश्वविद्यालयको उप–कुलपतिका लागी सिफारिस भएका तीनै जनाको शक्तिकेन्द्रहरुमा दौडधुप भइरहेको छ । सिफारिस भएका तीनजनामध्ये सिफारिस लिस्टको एक नम्बरमा भने नन्दबहादुर सिंह छन् ।
त्रिभुवन विश्वविद्यालयका प्रध्यापक सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालय निर्माणमा महत्वपूर्ण भूमिकामा रहेकोले पनि उनको सम्भावना प्रवल रहेको उनि निकट स्रोतले जनाएको छ । सिंह पूर्व एमालेबाट सिफारिस भएका छन् भने अन्य दुबैजना पूर्व माओवादी निकट मानिन्छन् ।
‘सिंहलाई प्रधानमन्त्री र नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माको पनि उत्तिकै सहयोग छ ।’ स्रोतले भन्यो, ‘अल्फाबेटको आधारमा तेस्रोमा परेपनि योग्यता, अनुभव र क्षमताको आधारमा नन्द सिंह पहिलो नम्बरमा परेका हुन् ।’
उनिसँगै सिफारिस भएका जनार्दन लामिछाने काठमाडौं विश्वविद्यालयमा अध्यापनरत छन् । लामिछाने कर्णाली प्रदेशको नभएका कारण पनि प्रदेश सरकार र स्थानीय नेताहरु सकरात्मक छैनन् । लामिछानेले विगतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा नभई नेपालगंजमा बनाउनुपर्नेमा जोड गरेका कारण पनि उनिलाई असहज परिस्थिति निर्माण भएको छ यद्यपी भागवण्डामा पूर्व माओवादीले पाए उनि उपकुलपति बन्ने सम्भावना देखिन्छ ।
लामिछानेले पछिल्लो समय विवादास्पद रहेको दक्षिण कोरीयाली सनमून विश्वविद्यालयबाट पीएचडी गरेका थिए जुन विश्वविद्यालय विश्वको ४६२९ औं स्थानमा छ ।
‘राना पद प्राप्तिका लागि राजनैतिक रुपमा सहजै परिवर्तन हुन तयार पात्रको रुपमा चिनिन्छन्’ स्रोतले भन्यो, ‘रानाको भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन छ, उनि सर्वोच्च अदालतमा तारिख बोकिरहेका छन्, नैतिकताका आधारमा उनि सो पदका लागि सिफारिस हुन लायक होइनन् ।’ राना हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका सदस्य समेत हुन् ।
रानालाई पूर्व माओवादीका स्थानीय नेताहरुको साथ छ । सेवा आयोगमा काम गरेका कारण उनले पार्टी निकट केही कार्यकर्तालाई विश्वविद्यालयमा नियुक्ति गर्न सहज वातावरण निर्माण गरेकोले स्थानीय नेताहरुको समर्थन पाएको स्रोतको दावी छ ।
रानाले भारतको मगध विश्वविद्यालयबाट पीएचडी गरेका थिए जुन विश्वविद्यालय विश्वको ८५४१ औं स्थानमा छ ।
केही दिनभित्र विश्वविद्यालयहरुमा रिक्त पदाधिकारी नियुक्ति गर्ने मुडमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले बताएको छ ।