सुर्खेत । समाज परिवर्तनको मुख्य मेरुदण्ड संचार भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को ५९ औं वार्षिकोत्सवको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
वार्षिकोत्सवका अवसरमा राससले ‘समृद्धि प्राप्तिमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले समाजमा भइरहेका हरेक गतिविधिमा आएको परिवर्तनमा संचार क्षेत्र भुमिका रहेको बताए । राज्यका तीन वटै अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) को मनिटरिङ्ग गर्ने दायित्व पनि मिडियाको रहेको बताए ।
‘राज्यका तीनवटै तहबाट भएका कमीकमजोरी पत्ता लगाई आलोचनात्मक सुझाव दिने दायित्व पनि मिडियाको हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले जनता र राष्ट्रियताका विषयमा मिडियाले वकालत गर्नुपर्छ ।’
समग्र कर्णालीको विकास मोडलमा कसरी जानेभन्ने तर्फ लाग्न सम्पूर्ण मिडियाकर्मीलाई आग्रह गरे । ‘कसैका विरुद्धमा केन्द्रित भई खेदो खन्ने तर्फ नलाग्नुहोस् ।’ उनले भने, ‘सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’
राससको ५९ औं वार्षिकोत्सवको अवसरमा समृद्धि प्राप्तिका लागि सञ्चार क्षेत्रको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा राससले संघियता अनुरुप ७ वटै प्रदेशमा प्रदेश बुलेटिन प्रकाशन गर्नुपर्नेमा सहभागीले सुझाव दिए । राससमा नियुक्तिको विषयमा समावेशी सिद्धान्तलाई समावेश नगरिएको भन्दै टिप्पणी समेत गरिएको थियो भने राससले सरकारको विरुद्धमा समाचार नलेखी सरकारको मुखदर्शकको रुपमा काम गर्ने गरेको समेत टिप्पणी भएको थियो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश योजना आयोगका सदस्य उपेन्द्र कार्की लगायतका अन्य सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट छनौट गर्दै राससले कर्णाली प्रदेशबाट हेमन्त केसीलाई पुरस्कृत गरेको छ । केसीलाई नगद १५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।