अछाम । पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनु भएको छ ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेकाे गैरीगाउँको गोठमा उहाँको शव भेटिएको छ । ‘गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ’, घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक (इनस्पेक्टर) रमेशदत्त अवस्थीले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।’
उनका अनुसार घटनाका बारेमा प्रहरीलाई मङ्गलबार बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ ।
अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली आइरहेको उनले जानकारी दिए । मृतक धामी शिक्षक पेसाबाट राजीनामा दिइ नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।