दैलेख । जिल्लाको महाबु गाउँपालिका ३, बाँसीमा रहेको मालिका माध्यामिक विद्यालय तनावग्रस्त बनेको छ । विद्यालयमा राजनीतिक खिचातानीका कारण भएको लडाईले विद्यार्थी शान्तपूर्ण तरिकाले पढ्न पाउने हकबाट बञ्चित भएका छन् ।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक लडाई हुँदा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्न खोजिएको पीडित विद्यार्थीको भनाई छ ।
आइतबार विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि पठाउने सन्दर्भमा शिक्षकहरुबीच विवाद भइरहेको थियो । शिक्षक संगठन र शिक्षक संघका शिक्षकहरुबीच बहुमतका आधारमा संगठनका तर्फबाट मनबहादुर बुढालाई पठाइएको थियो । तर मनबहादुर बुढालाई दिएको समर्थन उनकै पक्षधर ४ जना संगठनका शिक्षकले समर्थन फिर्ता लिएपछि उनि अल्पमतमा परेका थिए । सोही विवाद समाधानका लागि सोमबार महाबु गाउँपालिकाका निमित्त शिक्षा शाखा प्रमुख मनराज शाहीको उपस्थितिमा बसेको बैठकमा शिक्षक बुढाकी श्रीमति माला मल्ल सहितका अभिभावकले शिक्षकहरुमाथी हातपात गरी अभद्र व्यवहार गरेका थिए । विद्यालयका ९ जना शिक्षक आफुहरुमाथी भएको अभद्र व्यवहारको विरुद्व उजुरी दिन जिल्ला सदरमुकाम आएका थिए भने विद्यालयको पठनपाठन बन्द भएको थियो । तर नेकपा निकट कार्यकर्ताले भने विद्यार्थीलाई जवरजस्ती कक्षाकोठामा थुनी कक्षा सञ्चालन गर्न खोजेको एक विद्यार्थीले जानकारी दिए ।
घटनाबारे बुझ्न पुगेका अभिभावकहरुलाई नेकपा निकट स्थानीयले विद्यालय घेरी उनिहरुमाथि हातपात र अभद्र व्यवहार गरेको एक अभिभावकले जानकारी दिए । ‘हामी विद्यालय पुगेर केही कुरा गर्न पाएकै थिएनौं उनिहरु एक्कासी हामीमाथी अरिङ्गाल जस्तै खनिए ।’ उनले भने, ‘उनिहरुसँगको झडपमा कक्षा ११ मा अध्ययनरत छात्रा गीता शाही घाइते भएकी छिन् ।’ घाइते गीताको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
प्राधानाध्यापकद्वारा विद्यार्थीको भर्ना शुल्क हिनामीना
विद्यालयका प्रधानाध्यापक राम बहादुर बुढाले विद्यार्थीको भर्ना शुल्क वापतको रकम हिनामीना गरेको आरोप लागेको छ । गत शैक्षिक सत्रमा एसईई परीक्षामा समावेश भएकी छात्रा गीता शाहीको राम्रो ग्रेड प्राप्त नहुँदा इच्छाएको विषय पढ्न नपाउने भएपछि कक्षा ११ मा भर्ना हुन सकेकी थिइनन् । उनले आफु भर्ना हुन नपाउने जानकारी भएपनि विद्यालयका प्रअ बुढाले पढ्न पाइने भन्दै भर्ना लिएका थिए । उनको भर्ना वापत ३ हजार २ सय ५० रुपैयाँ लिइएको थियो ।
‘पढ्न पाइन्छ भनेर भर्ना गरेँ तर फारम भर्दा मिल्दैन भनेर फिर्ता पठाउनु भयो ।’ गीताले दुल्लूखबरसँग भनिन्, ‘प्रअले मेरो पैसा माथि जम्मा भएको भन्दै फिर्ता दिनु भएन, अहिले पढ्न पनि पाएको छैन ।’
याे पनि पढ्नुहाेस् :