सुर्खेत । मंगलवार भएको टिप्पर दुर्घटनामा कालिकोट महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको थियो । त्यसको चार दिनपछि आज टिप्पर मालिक र पीडित पक्षबीच सीडीओसमक्ष पाँच बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको उक्त सहमति पश्चात वीरेन्द्रनगरमा शान्ति सुरक्षा कायम भएको छ भने मृतकका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएका छन् । मृतकका आफन्त पञ्चा सिंहका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह, राप्रपाका नेता जनक सिंह, पीडित पक्ष, टिप्पर मालिक र प्रशासन बीच पाँच बुँदे सहमति भएको हो ।
सहमति हुनुअघि बिहीवार बिहान वीरेन्द्रचोकमा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा प्रहरीले धरपकड गरिरहेका बेला दैलेखका ११ वर्षीय बालक हिमाल नेपालीको दाँत खसेको थियो ।