सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको सामाजिक/राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल मगर संघद्वारा वीरेन्द्रनगर– ९ मा निर्माण हुने मगर सांस्कृतिक संग्राहालयको बुधवार शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले राजनीतिक आन्दोलन समाप्त भएको भन्दै अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।
‘मगर संस्कृतिको रक्षा अरू कुनै जाति र समुदायले गर्दैनन्, तपाईंहरू आफैंले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ,’ उनले भने, ‘भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।’
बजेट अभावकै कारण संग्राहालय निर्माणमा अवरोध नहुने उनको भनाइ थियो ।
‘भाषा संस्कृति एवं विभिन्न जातजातिका भेषभुषाको संरक्षण गर्नु अबको चुनौति रहेको छ,’ उनले भने, ‘आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्छ ।’
मगर संघका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गरेको २ कट्ठा जग्गामा रु. ३ करोड, ६८ लाख, ६८ हजार लागतमा संग्राहालय निर्माण शुरू भएको हो ।
निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले रु. ७५ लाख, सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले रु. १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी करीब रु. १ करोड ५० लाख सङ्कलन भएको बताए ।
विद्युतीय भर्याङसहितको पाँच तले भवनमा प्रादेशिक मगर संग्राहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर संघको प्रशासनिक भवन, संघअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजाकक्ष र सभाहल रहनेछन् ।
भवन परिसरमा जग्गा दाता जहरसिंह थापाको अर्धकदको प्रतीमा राखिनेछ ।