सुर्खेत । सोमबार राती वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्क तोडफोड भएको छ । अज्ञात समुहद्वारा बसपार्क तोडफोड भएको हो । तोडफोडबाट बसपार्कक झ्याल र ढोकाहरु फुटेका छन् । राती करिब साढे १२ बजे तिर तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले वीरेन्द्रनगर–६ का लोमन थापा र वीरेन्द्रनगर–१० का सुरेश बोगटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत भरत शाहले दिएको जानकारी अनुसार तोडफोडमा संलग्न एक जना भने फरार रहेका छन् । फरार व्यक्तिको विवरण भने प्रहरीले खुलाएको छैन ।
तोडफोडबाट बसपार्कमा रहेको टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालहरुको सिसामा क्षति पुगेको छ । तोडफोडबाट तीन लाख बराबरको क्षति भएको प्रहरी भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका नगर नियमन कर्ता टंक प्रसाद आचार्यले घटनाको जानकारी आए संगै प्रहरीमा जाहेरी दिएको बताए ।
बसपार्क निर्माण सम्पन्न भैसकेपनि अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क पुनःनिर्माण अघि पुरानो बसपार्कमा केहि व्यावसयिहरुले आफ्नो व्यावसाय संचालन गर्दै आएका थिए । केही दिन अघि नगरपालिकाले पूर्व सहमतिको पालना नगरेको भन्दै सोहि स्थानमा व्यावसाय संचालन गरेका ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई बस पार्क व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । यो संगै नवनिर्मित बसपार्क सञ्चालनमा अन्यौलता छाएको छ ।