सुर्खेत । कर्णाली प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले सरकारी लिखत कीर्तेसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । कीर्ते, बैंक ग्यारेन्टीको पत्र सरकारी लिखतभित्र नपर्ने भन्दै काठमाडौं जिल्ला अदालतले सरकारी लिखत कीर्तेसम्बन्धी मुद्दामा सफाइ दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद वलीको एकल इजलासले सो मुद्दामा सफाइ दिएको हो । सरकारी लिखत् कीर्तेसम्बन्धी मुद्दामा निवर्तमान मन्त्री खत्रीले सफाइ पाए पनि उच्च अदाल पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा भने विचाराधीन रहेको छ । उच्चअदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार यही पुष २९ गतेका लागि बैकिङ कसुरसम्बन्धी मुद्दाको पेशी तोकिएको छ ।
मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली, झुटो, कीर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेको थियो । यो प्रकरणमा पाँचैजनाविरुद्ध बैंकिङ कसुरअन्तर्गत चलाइएको मुद्दा विचाराधीन रहेको छ ।
निर्माण व्यवसायीसमेत रहेका निवर्तमान मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्रीबाट बर्खास्त गरेका थिए ।