सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई विश्वमै पहिचान बनाउन युवाहरु क्रियाशिल हुनेपर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा सुरु भएको प्रदेश युवा सम्मेलनमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
नेपाल युवा परिषद केन्द्रिय कार्यलय र नेपाल युवा परिषद कर्णाली प्रदेशको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले भिजाको लागि हानथाप गरि रहेका युवाहरुलाई उद्यमशिल बनाउन कर्णाली प्रदेशमा आकर्षित गरिने बताए । ‘बाह्य युवालाई कर्णालीमा रोजगारका लागी निवेदन ल्याएर आउने वातावरण सिर्जनाका लागी युवाहरुले योजना बनाएर अघि बढ्नुहोस् ।’ मन्त्री भण्डारीले भने, ‘यसका लागि प्रदेश सरकार हातेमालो गर्न तयार छ ।’
त्यस्तै सम्मेलनमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिब मानबहादुर विकेले कर्णाली प्रदेशका ८५ प्रतिशत नागरिक घर खर्च चलाउन प्रदेश बाहिर जानु पर्ने बाध्यता रहेको जानकारी दिए । उनले ५५ प्रतिशत नागरिक भारत लगायतका ठाउँमा गएर जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था प्रदेशको मुख्य चुनौतिको रुपममा रहेको बताए ।
‘अझै पनि ७ प्रतिशत मानिस हप्ताका एक दिन भोकै सुत्नु पर्ने कर्णाली अवस्था रहेको’ विकेले भने, ‘यस्ता समस्याका विषयमा कर्णाली प्रदेशका युवाहरुले विशेष ध्यानदिनु पर्नेहुन्छ ।’
नेपाल युवा परिषद कर्णाली प्रदेशका संयोजक ईन्द्रजीत सुनारले बैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै रोजगारका अवसर खोज्नुपर्ने भन्दै यसका लागि नेपाल युवा परिषद लागि परेको बताए ।
युवा उद्यमशीलता, युवा नेतृत्व , पर्यटन बर्ष २०२० को दिगो विकास लक्ष्य, वातावरण तथा जलवायु परिवर्तन र सूचना प्रविधिको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका झण्डै २०० जना सहभागी भएका छन् ।