दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लागेको छ । नेपाली काँग्रेस चामुण्डा बिन्द्रासैनी नगरपालिका नगर कार्यसमितिले आफुहरुसँग गरिएका वार्ताहरु लत्याइएको भन्दै ताला लगाएका हुन् ।
काँग्रेसले गत मंसिर ४ र पुस ७ गते दुई पटक नगरपालिकालाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउँदा बसेको वार्ताबाट भएका निर्णयहरु कार्यान्वयन नगरेपछि काँग्रेसले आइतबार ताला लगाएको वार्ता टोलीका संयोजक राजेश शाहीले जानकारी दिए ।
नगर सभापति जगतबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा काँग्रेसको जिम्मेवार वार्ता टोलीको बद्नियतपूर्ण बेवास्ता गरेकोले, जबसम्म नगर सरकार जिम्मेवार, जवाफदेही र जनउत्तरदायी भएको पूर्ण विश्वसनीय वातावरण तयार गर्दैन तबसम्मको लागि शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै तालाबन्दी गरिएको जनाइएको छ ।