सुर्खेत । ‘नेपाल भ्रमण वर्ष २०२०’को देशैभर विभिन्न कार्यक्रम गरि शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नै तरिकाले भ्रमण वर्ष शुभारम्भ गरेका हुन् । संघीय राजधानी काठमाडौंमा रंगशालामा विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्षको शुभारम्भ गरिन् भने कर्णाली प्रदेशमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले एग्रो पर्यटनको रुपमा कर्णाली प्रदेश सरकारलाई विकास गरिने बताएका छन् । उनले कर्णालीमा मार्सी पाईने, जौ, फापर जस्ता रैथाने बाली भएको र अर्गानिक उत्पादन हुनेहुँदा यसलाई एग्रो पर्यटनको रुपमा विकास गरिने बताएका हुन् ।
कर्णाली सरकारले कृषि र पर्यटनलाई नै समृद्धिको मुल आधारको रुपमा गत वर्ष नै लगिसकेको बताए । ‘विश्वको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली भन्ने मूल नाराका साथ हामी अघि बढेका छौं । कर्णालीको मुख्य आयश्रोत कृषि हो । आत्म निर्भर अर्थतन्त्रका लागि यसले टेवा र्पुयाउँछ,’ उनले भने, ‘दोश्रो पर्यटन हो । रारा, शेफोक्सुण्डो, कुपिन्डे दह, बुलबुले ताल जस्ता प्राकृतिक पर्यटनका आधार स्तम्भ हुन ।’
‘कर्णालीमा धार्मिक तथा भाषिक पर्यटनको सम्भावना पनि छ,’ उनले भने, ‘नेपाली भाषाको उत्पति कर्णालीको सिंजामा नै भएको हो । यहाँको काँक्रेविहार, मानसरोवरका लागि छोटो दूरी , देउतीबज्यै, चन्दननाथ मन्दिरलाई पर्यटन क्षेत्रको रुपमा प्रचार गरी हिन्दु र बौद्ध धर्मावलम्बी कर्णाली ल्याउन सकिन्छ ।’
उनले कर्णाली विकट भएको बताए । ‘कर्णाली आउन असजिलो क्षेत्र हो,’ शाहीले भने, ‘कर्णाली आउन सस्तो कसरी बनाउन सकिन्छ, कसरी सहज आवतजावत जाने बाटो बनाउन सकिन्छ चुनौती छ । तर हामी ती चुनौतीको डटेर सामना गर्दै पर्यटकलाई कर्णालीमा ल्याउन हामी लाग्छौ ।’
उनले बाहिरबाट आउने अतिथिलाइ भगवानको रुपमा लिइ अघि बढनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले राष्ट्रको आवश्यकता र महत्व पूरा गर्न पर्यटन क्षेत्रले ठूलो योगदान दिइरहेको बताए । ‘यो नेपाल भ्रमण वर्षले यो वर्षका लागि मात्रै पर्यटकलाई आकर्षण गर्नेछैन । आगामी वर्षमा पनि नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि कोसेढुंगा बन्ने मेरो विश्वास छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा पनि त्यसैले शुभारम्भ गरिएको हो । सम्पन्नता हासिल गर्ने महत्वपुर्ण क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको सबै क्षेत्रले भरपुर उपयोग गर्न जरुरी छ ।’
सभामुख शाहीले पर्यटनमैत्री संस्कार र व्यवहार प्रर्दशन गर्न आवश्यक रहेको बताउँदै कर्णाली विकट भएपनि कर्णालीको बहुआयामलाई भरपुर उपयोग गरे देशलाई नै योगदान दिन सकिने बताए । उनले सबै क्षेत्रको सहकार्य र समन्वयबाट मात्रै कर्णालीको समृद्धि सम्भव रहेको बताउँदै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर्णाली पर्यटकलाइ दिलदेखि नै स्वागत गर्न आतुर रहेको बताए । ‘हामीसँग पर्याप्त पर्यटनका सम्भावना छन,’ उनले भने, ‘कर्णालीमा आउने सबै पर्यटकलाई कर्णाली स्वागत गर्न आतुर छ । नेपालकै भर्जिन प्रदेशमा भ्रमण गर्ने सबैलाइ अनुरोध गर्दछु ।’
कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रम वीरेन्द्रनगरस्थित पीपलचौताराबाट ‘भ्रमण वर्षलाई भव्यरूपले सफल पारौ’ं भन्ने नारा लेखिएका ब्यानरसहित ¥याली तथा झाँकी समेत निकालिएको थियो । पर्यटकीय क्षेत्र बुलबुलेमा एक भव्य कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो । कार्यक्रममा जुम्लाको देउडा गित, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो ।
यसैगरि कर्णाली प्रदेश सरकारले भ्रमण वर्षको लोगो पनि सार्वजनिक गरेको छ । गणेश आचार्यले निर्माण गरेको लोगो उत्कृष्ट भएको ठहर गर्दै लोगो सार्वजनिक गरिएको हो ।
शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि सोझै बुलबुले तालमा अवतरण गरेका थिए । प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए ।
कार्यक्रममा कर्णाली आएका विदेशी पाहुनालाइ कार्यक्रममा भव्य स्वागत गरिएको छ भने प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई सम्मान गरेका थिए । यसअघि मन्त्रालयले भारतीय पर्यटकहरुको बबईमा स्वागत गरेको थियो ।
कार्यक्रमको अवसरमा साग विजेता खेलाडीलाई सम्मान गरिएको छ ।
१३ औं साग बिजेता खेलाडीलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गरेको हो । कर्णालीबासी भएका नाताले कर्णालीका लागि पदक ल्याएको बताउँदै प्रदेश सरकारले सम्मान गरेको हो ।
मुख्यमन्त्री शाहीले १३ औ सागमा उसुमा स्वर्णपदक जितेका दिपक हमाललाई नगद ३ लाख, म्याराथुनमा रजत पदक प्राप्त गर्ने सल्यान कि पुष्पा भण्डारी, महिला फुटबल समूहमा रजत पदक प्राप्त गर्ने सुर्खेतकी गिता राना, र महिला हेन्ड बलमा रजत पदक प्राप्त गर्ने रुकुम पश्चिमकी शारदा बिकलाई जनही नगद रु दुई लाख र सम्मान पत्रसहित सम्मान गरेका थिए ।
त्यस्तै कास्यपदक बिजेताद्वय दैलेखका चन्द्रकला थापा बक्सिङतर्फबाट, खोखोतर्फ सुर्खेतका टेक बहादुर सार्कीलाई जनही १र१ लाख नगदसहित मुख्यमन्त्री शाहीले सम्मान गरेका हुन् ।