दैलेख । भोलि बुधबार अर्थात १ जनवरी २०२० का दिन ‘भिजिट नेपाल २०२०’ देशैभर शुभारम्भ हुँदै छ । संघ, प्रदेश र स्थानीय तहका सरकारहरुले आ–आफ्नै तयारीका साथ शुभारम्भ गर्दैछन् । सोही अवसरमा दैलेखका स्थानीय तहले पनि विभिन्न योजनाका साथ भ्रमण वर्षको शुभारम्भ गर्ने बताएका छन् ।
जिल्ला अन्य स्थानीय तहहरुले भोली नै कार्यक्रम शुभारम्भ गर्ने तयारी गरेका छन् भने भगवतिमाई गाउँपालिकाले १९ गते र डुंगेश्वर गाउँपालिकाले २२ गते शुभारम्भ कार्यक्रम गर्ने तयारी गरेको बताएका छन् ।
स्थानीयल लोक संस्कृतिसहित बेजोड प्रस्तुती हुने : दुल्लू नगरपालिका
जिल्लाको दुल्लू नगरपालिकाले स्थानीय लोक संस्कृतिसहितको बेजोड प्रस्तुतीका साथ भ्रमण वर्षको सुभारम्भ गर्ने भएको छ ।
शुभारम्भ कार्यक्रममा दुल्लूस्थित किर्तिखम्बमा ¥यालीसहित झोडा, मांगल, भैलो, धमारी, हुड्के नाँच, सरम नाँच, पञ्चेबाजा, दमाह नाँच लोक देउडा लगायतका सांस्कृतिक कार्यक्रमहरुका साथ भव्य रुपमा शुभारम्भ कार्यक्रम गरिने नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
कोतगढी अवलोकन गराईने: नारायण नगरपालिका
जिल्लाको नारायण नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रममा स्थानीय गणेशचौकदेखि नागरिकको सक्रिय सहभागितामा ¥यालिसहित ऐतिहासिक कोतगढीको अवलोकन गराई टुँडीखेलमा शुभारम्भ कार्यक्रम गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काका अनुसार कार्यक्रममा स्थानीय झाँकीहरु लहरे, पैसरी, तरबार नाँच, मयूर नाँच लगायतको प्रदर्शनी गरिने छ ।
त्यसैगरि नगरपालिकाका कार्यालय तथा संचालित सार्वजनिक यातायातमा भ्रमण वर्षको लोगो टाँस्ने कार्यक्रम रहेको नगरप्रमुख खड्काले जानकारी दिए ।
‘स्थानीय सुरक्षाकर्मी, प्रशासन, कर्मचारी, राजनीतिकर्मी लगायतसँग छलफल भइसकेको छ सोही अनुसार बेजोड रुपमै भ्रमण वर्षको शुभारम्भ गर्दछौं ।’ उनले भने, ‘आन्तरिक पर्यटक परिचालित गर्न जिल्लाका अन्य स्थानीय तहसँग समन्वय गर्ने तयारीमा छौं ।’
नगरपालिकामा भ्रमण वर्ष शुभारम्भको पूर्वसन्ध्यामा आज नगरपालिका सरसफाई गरिएको छ ।
सांस्कृतिक कार्यक्रमसहित शुभारम्भ: महाबु गाउँपालिका
जिल्लाको महाबु गाउँपालिकामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित भ्रमण वर्षको शुभारम्भ गरिने अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । ‘आवश्यक तयारी गरिसकिएको छ । भोली कार्यक्रम भव्यताका साथ शुभारम्भ हुन्छ ।’ उनले भने, ‘बुधबार साँझ दिपप्रज्वलन गरिने छ भने गाउँपालिका विभिन्न स्थानमा डिजिटल वोर्ड राख्ने तयारी भएको छ ।’
शुभारम्भमा गुराँस महोत्सव: गुराँस गाउँपालिका
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भमा गुराँस महोत्सव सञ्चालन गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् । उनले भ्रमण वर्षको शुभारम्भको अन्य औपचारिक कार्यक्रम नराखिएको भन्दै गाउँपालिकाका विभिन्न स्थानमा पर्यटकीय स्थलअंकित व्यानरहरु राखिने बताए ।