सुर्खेत । कालिकोटको महावै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले स्थानीय तहको उपाध्यक्ष चुनिएपछि डोजर सम्झौता गरेको पाइएको छ । स्थानीय तहको निर्वाचन लगत्तै उपाध्यक्ष शाहीले देउती निर्माण सेवासँग एक करोड नब्बे लाखको सम्झौता गरेका थिए ।
२०७४ साल बैशाख १ गते निर्वाचित भएका शाहीले २०७४ साल पौष ९ गते देउती निर्माण सेवासँग गाउँपालिकाका तर्फबाट एक करोड नब्बे लाखमा सडक निर्माणका लागि डोजर सम्झौता गरेका छन् ।
गाउँपालिका भित्रको वडा नं. ६,७ हुदैँ वडा नं १ को पाद्मघाट जोड्ने सडकमा एक करोड नब्बे लाखको देउती निर्माण सेवाका ज्ञानबहादुर भण्डारीसँग गाउँपालिकातर्फबाट शाहीले करार सम्झौता गरेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष शाहीले गाउँपालिकाका तर्फबाट सडक निर्माणका नाममा कम्पनीसँग सम्झौता गरेर स्थानीय केही व्यक्तिलाई अर्को सम्झौता गराएर गाउँपालिकाको रकम हिनामिना गर्ने उद्देश्य राखेका छन् ।
गाउँपालिका अध्यक्षले एक करोड ९० लाखमा सडक निर्माणको डोजर सम्झौता गराएर कम्पनीलाई ८९ लाखमा कम्पनीसँग अर्को सम्झौता आफुमार्फत गर्न लगाएको तिलागुफा नगरपालिका—६ का धर्मराज शाहीले बताए । ‘कम्पनीलाई १ करोड ९० लाखको सम्झौता गरिएको छ ।’ उनले भने, ‘पछि हामीलाई लगेर ८९ लाखमा हामीसँग कम्पनीमार्फत सम्झौता गराउन लगाउनुभयो ।’
सम्झौता अनुसार पाँच लाख रुपैयाँ कम्पनीको नाममा र दुई लाख ५० हजार रुपैयाँ गाउँपालिकाले आफ्नो नाममा उपाध्यक्ष शाहीको पहलमा नै आफुलाई दिएको धर्मराज शाहीले बताए । ‘गाउँपालिकाले मेरो नाममा दुई लाख ५० हजार र कम्पनीलाई पाँच लाख पेश्की दिएको थियो ।’ उनले भने, ‘खै के भएर त्यो सम्झौता अनुसार डोजर आएन ।’
गाउँपालिकामा डोजर नआएपछि अहिले यो घटना सार्वजनिक भएको हो ।