सुर्खेत । जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका छन् । पाटनमा जडिबुटी संकलन गर्न गएका तिला गाउँपालिका–९ ढिपु गाउँका १२ जना वेपत्ता भएका हुन् ।
बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए । जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला गाउँपालिका– ९ का वडा अध्यक्ष शेरबहादुर बोहोराले बताए ।
वेपत्ता हुनेमा तिला गाउँपालिका– ९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरबीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सुर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन् ।
वडा अध्यक्ष बोहोराका अनुसार उनीहरु सोमबार बेलुकासम्म कुनै पनि सम्पर्कमा आएका छैनन् ।
फुलवारी पाटनमा हिडेर जान सकिने अवस्था नरहेको र हेलिकप्टर बाहेकको विकल्प नरहेको स्थानीयले बताएका छन् ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ बेपत्ता भएकाहरुको उद्दारको लागि गृह मन्त्रालयमा पत्र पठाउन थालेको बताए । ‘पाटन हिउ परेको छ जान सकिने अवस्था छैन् ।’ उनले भने,‘हेलिकप्टरको माग गरिएको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार सबै सुरक्षित नै रहेको, हिउँका कारणले थुनिएको खबर आएको बताए । ‘आज हेलिकप्टरबाट उद्दार गर्न सजिलो छैन् ।’ उनले भने,‘भोली बिहान मात्र उद्दारको संम्भावना रहेको छ ।’
एक जनाको मृत्यु
फुलवारी पाटनमा एक जना खच्चर गोठालाको समेत हिउँमा परि मृत्यु भएको छ । तिला गाउँपालिका ६ नेटा भन्ने ठाउँमा चिसोले कठयाँग्रिएर तिला गाउँपालिका ९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए ।