सुर्खेत । कर्णाली राजमार्गमा निर्माणधिन पुलहरु द्रुतगतिमा निर्माण कार्य भइरहेका छन् । म्याद सकिएको लामो समय भइसक्दा पनि समयमै पुलनिर्माण हुन नसक्दा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले माघ महिनासम्म निर्माण सम्पन्न गर्न ताकेता लगाएपछि राजमार्गका पुलहरुको निर्माण कार्य रातारात द्रुत गतिमा अगाडी बढेको हो ।
कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेख, कालिकोट हँदै जुम्लासम्मका १५ वटा पक्की पुलहरु ठेकेदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन नसकेका पुलहरु ताकेदा गर्दा निर्माण कार्य द्रुुत गतिमा भइरहेका छन् ।
कर्णाली राजमार्गमा सबैभन्दा बढी १५ पुल निर्माणको जिम्मा रसुवा इलाइटरसूर्य जेभीले लिएको छ । उसले पहिलो प्याकेजअन्तर्गत लोहाखोला, रतिखोला, छेडाखोला, माटेखोला, लाम्चुडीखोला, पातलेखोला र छेडाखोलाको निर्माण जिम्मा लिएको छ । दोस्रो प्याकेजअन्तर्गत कुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेघाटखोला, गुइयाघाटखोला र दहीखोला तथा तेस्रो प्याकेजअन्तर्गत नाग्म–सिँजाखोला र छेदनाखोला पुलको निर्माण जिम्मा लिएको छ ।
यीमध्ये ५ पुलको निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका प्रतिनिधि दीपक खड्काले बताए । उनका अनुसार, डिजाइनमा देखिएको समस्याका कारण रतिखोला पुल तीनपटक र लोवाखोला पुल दुईपटक ‘रि–डिजाइन’ गर्नु परेको छ । विश्व बैंकको सहयोगमा बन्ने १५ पुलको लागत करिब ५८ करोड रुपैयाँ छ । तीनवटै प्याकेजका पुलको सम्झौता अवधि सकिइसकेको छ । अहिले तिन महिना भित्र पुल निर्माण सम्पन्न गर्ने बताए । म्याद सकिसकेको छ, तिन महिना थप गरेको छ ।
डिजाइन नै गलत हुँदा ७ वर्षदेखि जाक्सिखोला पुल अलपत्र
ठेकेदारको लापरबाही र पुलको डिजाईननै गलत हुँदा ७ वर्षदेखि दैलेखको जाक्सिखोलाको पुल अहिलेसम्म पुल बन्न सकिरहेको छैन २०६८ मा सिरुवार र सुनकोसी रकविर जेभीले ठेक्का लिएको जाक्सीखोला पुल, पुलको निर्माण बीचमै छाडेर ठेकेदार सम्पर्क्विहीन भएपछि डिभिजन सडक कार्यालयले पुनःटेन्डर आह्वानको तयारी गरेको छ ।
रसुवार इलाइटर सूर्य जेभीले जिम्मा लिएका पुलका साथै कर्णाली राजमार्गमा अन्य एक दर्जन पुल निर्माणाधीन छन । यी पुलको निर्माण २०६८ देखि सुरु भएको हो । सुरुको चरणमा निर्माण जिम्मा लिएका करिब २० ठेकेदार कम्पनी त काम छाडेर हिँडेका डिभिजन सडक कार्यालय सुर्खेका इन्जिनियर देवेन्द्र भट्टराईले बताए । उनका अनुसार भट्टेखोला, कालेखोला, टाकुल्लाखोला, छिडेनाखोला, खल्लागाडखोला, बालीगढखोला र सिम्लाखोलाका पुल अधुरै छन् ।
धेरैजसो पुल निर्माणको जिम्मा एउटै कम्पनीले लिँदा पनि ढिलाइ भएको उनले बताए । सिरुवार र सुनकोसी कविर जेभीले २०६८ मा जिम्मा लिएको जाक्सीखोला पुल पनि अलपत्र रहेको उनको भनाइ छ । कर्णाली राजमार्गका पुलको डिजाइन ईआरएमसी कन्सल्टेन्सीले गरेको हो । कर्णालीका पुलको डिजाइन काठमाडौंमै बसेर गर्दा समस्या देखिएको प्राविधिकको भनाइ छ ।
कतिपय स्थानमा मुआब्जा विवादले निर्माण अघि बढ््न सकेको छैन । ठेकेदार प्रतिनिधि टोपबहादुर महतराले सरकारले पुल निर्माणको प्रक्रिया सुरु गर्नुअघि माटो परीक्षण, सामाजिक तथा भौगोलिक अवस्था राम्ररी बुझ्नुपर्नेमा त्यसो नभएको बताए । अहिले सबै पुलहरुको म्याद सकिएको छ । सकिएका पुलहरुको म्याद ६ महिना थप दिएका छौँ । बाँकी तिन महिना भित्रै निर्माण भइरहेका पुलहरु सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । अरु केही पुलहरु निर्माण कतै सुरु भएको छन् भने कतै अलपत्रै रहेका छन् ।