सुर्खेत । कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका छन् । कामको बोझ, गरिबी लगाएतका कारणले कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका हुन् ।
कर्णाली प्रदेश अस्पताल, सुर्खेतका अनुसार २०७६ श्रावणदेखि हालसम्म एक हजार चार सय ५३ जना मानसिक रोगका बिरामीको उपचार गरेको तथ्याङ्क रहेको छ ।
तथ्याङ्क अनुसार साउन महिनामा चार सय ३९, भदौं महिनामा तीन सय ७३, असोज महिनामा एक सय ६१, कार्तिक महिनामा दुई सय ८८ र मंसिरमा तीन सय दुई जना मानसिक रोगमा बिरामीले उपचार भएको छ ।
अस्पतालमा उपचार गर्न आउनेमध्ये ६० प्रतिशत डिप्रेसन, १५ देखि २० प्रतिशत चिन्ता जन्य एंवम चिन्ताबाट उत्पन्न हुने शारीरिक तथा अन्य समस्याहरु, ५ देखि १० प्रतिशत कडा खालका मानसिक रोग र ५ देखि १० प्रतिशत छारे रोग, मादक पदार्थ तथा लागुपदार्थको लत, डिमेन्सीया (बिर्सने रोग) बिरामी रहेको कर्णाली प्रदेश अस्पताल मनोचिकित्सक डा. शुशिल समदर्शीले बताए । ‘कर्णालीमा प्रदेशमा अस्पतालमा अंधिकास बिरामीको उपचार यही हुने गरेको छ ।’ उनले भने,‘केहीको थप उपचारका लागि रिफर गर्ने गरिएको छ ।’
कर्णाली प्रदेशमा मानसिक रोगका बिरामी बढ्नुमा दश वर्षे लामो द्वन्द्व, लामो समयदेखिको राजनैतिक अस्थिरता, रोजगारीको लागि युवाहरुको ठूलो हिस्सा बिदेश पलायन, जनसंख्या बृद्धबृद्धाको बढ्दो हिस्सा, गरिवी तथा अव्यवस्थित शहरीकरण, घरेलु तथा लैङ्गिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्तिको कारण धनजनको क्षतिले निम्त्याएको पीडा, आन्तरिक बसाई–सराई, प्रविधिको दुरुपयोग आदि रहेको मनोचिकित्सक डा. समदर्शीले बताए । ‘कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ ।’ उनले भने,‘यसबाट बालबालिका, किशोरकिशोरी, प्रजनन उमेर समूहमा महिला तथा गृहणी महिलाहरु र वृद्धवृद्धाहरु बढि जोखिममा रहेका छन् ।’
मानसिक रोग बढ्दै गएमा मानिसले आत्महत्या बाटो रोज्ने गरेको र त्यसको समयमै उपचार र निदान हुन जरुरी रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालका मनोपरामर्शदाता हिमाल गैरैले बताए । ‘मानसिक रोगहरुमा चिन्ता सम्वन्धि (एन्जाइटी) रोगहरु, दिक्दारीपन (डिपे्रसन), मानसिक असन्तुलन, छारे रोग, मद्यपानको लत लगायतका रहेका छन् ।’ उनले भने,‘मानसिक रोगका कारण आत्महत्या गर्ने समेत रहेको छ ।’
कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएको मानसिक रोगका कारणले आत्महत्याको गर्नेको क्रम पनि बढ्दै गएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपाल सुर्खेतका कार्यक्रम संयोजक कालीबहादुर कामीले बताए । ‘कर्णालीमा आत्महत्याको दर बढ्नुमा पनि मानसिक रोग एक हो ।’ उनले भने,‘आत्महत्याको दर घटाउनका लागि पनि योजनाबद्ध तरिकाले उपचार बिधि लैजानुपर्छ ।’