दैलेख (दुल्लू)। दुल्लू अस्पतालमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । दुल्लु नगरपालिका र दुल्लु अस्पतालको आयोजनामा सुचारु भएको २ दिने विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।
सिविरमा मुटुरोग, वालरोग, स्त्रीरोग र हाडजोर्नी लगायतका रोगहरुको परीक्षण गरिएको छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, नेपाली सेना उत्तर पश्चिम पृतनापति प्रा. सहसेनानी डा. विकेश तिवारी लगायतका डाक्टरहरुले विरामीहरुको उपचार गरेका छन् । शिविर सञ्चालन गर्नको लागि सेभ द हार्ट, लाजिम्पाट काठमाडौं, मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, सेन्टर त्री. वि. शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं, कर्णाली प्रदेश अस्पताल सुर्खेत, शुभकामना पोलिक्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको थियो भने व्यवस्थापन दैलेखी सेवा समाज काठमाडौंले गरेको थियो ।
यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले समन्वय गरेको छ । पहिलो दिनको निशुल्क स्वास्थ सिविरमा करिव १५ सय जति विद्यार्थी र १२ सय भन्दा वढि सर्वसाधारणहरुको स्वास्थ्य परिक्षण गरियको थियो । शुक्रबार स्वास्थ्य परिक्षण गरिएका विरामी मध्य ४ जना मुटु सम्वन्धी गम्विर विरामी भएकालाई काठमाडौं रिफर गरिएको छ । उक्त विरामीलाई निशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ ।
४ हजार १६ जना जनाको स्वास्थ्य परिक्षण
शिविरमा ४ हजार १६ जना जनाको स्वास्थ्य परिक्षण गरेका छन् । जसमध्ये एक हजार दुई सय ५३ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छन् भने ५० जना मुटुरोगका विरामी उपचार गरिएको छ । त्यस्तै १७ जना जोखिम मुटुरोगका विरामीको सल्यक्रियाका लागि निःशुल्क उपचार गरिने भएको छ । त्यस्तै इसिजी तर्फ ७ सय ५३, ल्याव एक सय ५० र इको ५ सय ९७ जनाले सेवा लिएका छन् । शिविरमा दुल्लु नगरपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका स्थानीयहरु लाभान्वित भएका छन् ।
केन्द्र र प्रदेश सरकारको स्वास्थ्यमा नजर पुगेन ः नगरप्रमुख भण्डारी
दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संविधानतः नागरिकलाई स्वास्थ्यको सरल पँहुच हुने उल्लेख भएपनि केन्द्र र प्रदेश सरकारको नजर नपुगेको बताए । स्थानीय सरकार जनताप्रति बढि उत्तरदायी हुनेभएकोले पनि आफुहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाएको खुशी व्यक्त गरे । दुल्लू अस्पतालको स्तरोन्नतिका लागि स्थानीय तहबाट हुने जुनसुकै कसुर बाँकी नराख्ने बताउँदै उनले प्रदेश र केन्द्र सरकारसँग थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अस्पतालको स्तरोन्नति नहुन्जेल यस्तै विभिन्न प्रकारका शिविर सञ्चालन गरेर यहाँका जनाताको सेवा गर्छौ ।’ उनले भने ‘यो पटक मुटु रोग सम्वन्धी सिविर सञ्चालन गरेका छौं, आगामी दिनमा अरु रोगहरु सम्वन्धी शिविर सञ्चालन हुनेछन् ।’
दैलेखी सेवा समाजको अध्यक्ष प्रताप शाहीले यसअघि दैलेख सदरमुकाममा शिविर सञ्चालन गरिएकोमा हाल दुल्लू नगरपालिकामा सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।