दैलेख (नारायण) । दैलेखको नारायण नगरपालिकाले ‘खरका छानामुक्त’ कार्यक्रम मार्फत नगर क्षेत्रमा खरका छाना विस्थापित गर्ने भएको छ । नगरपालिकाले खरले छाएका घरमा टिनका छाना लगाउन सघाउने भएको हो । हाल नगर क्षेत्रका ७८० ओटा घरका छाना खरका छन्् भने ३६ ओटा घरमा माटोका (काठ र माटोबाट बनाइएका) छाना छन् ।
जनप्रतिनिधिले स्थानीय तहको चुनावताका गरेको प्रतिबद्धता अनुसार उक्त योजना अघि बढाइएको हो । नगरपालिकाको चालू आर्थिक वर्षको २०७६/७७ को नीति तथा कार्यक्रममा प्राथमिकताका योजना अन्तर्गत ‘खरका छानामुक्त नगर घोषणा’ कार्यक्रम पनि राखिएको छ । लक्षित वर्गको योजना तथा कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले विभिन्न नीति अपनाएको नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।
उक्त कार्यक्रम सफल भए नगरवासी हावाहुरी, आगलागी लगायत प्रकोपबाट मुक्त हुने नगर प्रमुख खड्काको अपेक्षा छ । कार्यक्रम कार्यान्वयनका लागि ‘खरका छाना मुक्त’ कोषको स्थापना गरिएको उनले बताए, जसमा नगरपालिका र प्रदेश सरकारले ३०/३० लाख गरी ६० लाख रुपैयाँ जम्मा गरिएको उनले जानकारी दिए । जम्मा भएको रकम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगसँग पनि समन्वय गरिने उनको भनाइ छ । ‘यसका लागि पत्र समेत पठाइसकेका छौं,’ उनले भने, ‘कार्यविधि बनाएर अघि बढ्छौं ।’ प्रतिघर टिनका छाना लगाउन ३ देखि ४ लाख रुपैयाँ आवश्यक पर्ने नगर प्रमुख खड्काले बताए ।
जिल्ला सदरमुकाम समेत रहेको उक्त नगरपालिकामा ३० वर्षभन्दा पहिलेदेखि नै कतिपय नागरिक घरवासविहीन छन् । यस्तै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नभई कुनै एक ठाउँमा जमीनको उपभोग गरेर बस्नेहरू पनि छन् । यस्ता नागरिकले पनि अब लालपुर्जा पाउने बनाइएको छ । नगरपालिकाले यसका लागि प्रक्रिया अघि सारेको नगर उपप्रमुख सावित्री मल्लले जानकारी दिइन् । भूमि व्यवस्था मन्त्रालयले दिएको अधिकारका आधारमा उनीहरूलाई लालपुर्जा दिन लागिएको उनको भनाइ छ ।