सुर्खेत । विश्व शौचालय दिवसको अवसरमा कर्णाली प्रदेशको ऐतिहासिक पर्यटकीय स्थल ‘काँक्रेविहार’मा अत्याधुनिक शौचालय निर्माण हुने भएको छ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने उदेश्य अनुरुप वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघ (युएनडिपी) र अन्तरनिर्भर समाज, सुर्खेतको साझेदारी एवं ९ नं. वडा कार्यालयको समन्वयमा शौचालय निर्माण गरिन लागिएको हो ।
शौचालय निर्माणले काँक्रेविहार अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटककोलागि शौच गर्न अब सजिलो हुने वीरेन्द्रनगर नगरपालिका–९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए । ‘अझैँ बढी पर्यटकको आगमन हुने विश्वाव लिएका छौं ।’ उनले भने,‘शौच गर्ने ठाउँ नहुँदा समस्या भएको थियो ।’
शिलान्यास कार्यक्रममा लाटीकोइलीका स्थानीय तारा राष्कोटीले काँक्रेविहारमा शौचालय निर्माण हुनु स्थानीयबासीको धेरै अगाडीको एउटा सपना पुराभएको बताइन् ।
सामुदायिक संरचना बिकास अन्र्तगत २८ लाखको लागतमा शौचालय निर्माण हुन लागेको शौचालय वातावरणमैत्री, बाल मैत्री, लैङ्गिक मैत्री हुने अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालय नजिक पनि यस्तै किसिमको शौचालय निर्माणको आजै शिलान्यास गरिएको र दुबै शौचालय यही चैत्र १५ गते भित्र निर्माण सम्पन्न हुने व्यवस्थापक शाहीले जानकारी दिए ।