सुर्खेत । नेपाली भू भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोमा व्यापक विरोध सुरु भएको छ । यसै अन्तर्गत सुर्खेतमा पनि अनेरास्ववियुको नेतृत्वमा आन्दोलनको सुरुवात भएको छ । भारत सरकारको विस्तारवादी नीतिले नेपाली भू भाग आफ्नो नक्सामा हालेर र नेपाली भूमि अतिक्रमण गरेको भन्दै अनेरास्ववियुले आन्दोलनको सूरुवात गरेको साविक अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष धुपेन्द्र शाहीले बताए । विद्यार्थीहरुले कालापानी हाम्रो हो, लिपु लेख हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाउँदै स्थानीय वीरेन्द्रचोकमा कोणसभाको आयोजना समेत गरेका छन् । कोणसभामा बोल्दै विद्यार्थी नेता धुपेन्द्र शाहीले भारतले मिचेको भूमि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसैगरि अनेरास्ववियुका नेता प्रेम खड्काले नेपाली भूमि माथि भारतीय सरकारले पटक पटक हस्तक्षेप गर्ने प्रयत्न गरेकाले तत्काल भारतीय सरकार सच्चिन तयार नभए लिपुलेख र कालापानीमै अनेरास्ववियु भाला लाठी लिएर मार्चपास गर्न तयार रहेको बताए ।
देवीचन्द्र उपाध्यायले भने भारतीय हस्तक्षेप नेपाली विद्यार्थीलाई सह्य नभएको नेपाली माटोको माया गर्ने सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् ।
आन्दोलनमा प्रेम खड्का, तिर्सना हमाल, देवीचन्द्र उपाध्याय, प्रभात पोखरेल, निकुञ्ज पाण्डे, चक्र शाही, जगत ढकाल, हिम्मत शाही, गणेश शाही, सरोज न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले भारत सरकारसँग समन्वय गरि नेपालको भूमि तुरुन्त फिर्ता गर्नु पर्ने उनीहरुले माग राखेका छन् । भारत सरकारले नेपाली भूमि माथि गरेको अतिक्रमण सह्य नभएको बताउँदै विद्यार्थीहरुले सरकारले त्यस तर्फ चासो नदेखाए कडा आन्दोलन गर्ने बताएका छन् ।