सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैलेख र कालिकोटको सिमानामा रहेको महाबु क्षेत्रलाई ’पर्यटन हब’ बनाउने बताएका छन् ।
दैलेखको दमैकादेखि महाबु धामसम्म पुग्ने पर्यटकीय पद मार्गको शिलान्यास गर्न महाबु पुगेका मुख्यमन्त्री शाहीले प्रचार प्रसारको अभावले पछि परेको महाबु धमला कर्णाली प्रदेश सरकारले पर्यटकीय हबका रूपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने बताए ।
मुख्यमन्त्री शाहीले दैलेखको सबैभन्दा अग्लो स्थानमा रहेको महाबु धामको अवलोकन गर्दै स्थानीय सरकारले पनि दैलेखमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसारसँगै संरक्षण गर्नु पर्ने दायित्व भएकाले सबै मिलेर पुराना सम्पदा कला संस्कृति जोगाई राख्न आग्रह गरेका छन् ।
यस्तै दैलेख उद्योग वाणिज्य संघ दैलेखले मुख्यमन्त्री शाहीसमक्ष बिभिन्न प्रकारका मागसहित माग पत्र समेत बुझाएको छ । दैलेख सुर्खेत सडक खण्डको स्तरउन्नति गर्न सुर्खेतदेखि हिल्सा जोड्ने सडकको काम छिटो सुरु गर्ने र दैलेखमा औद्योगिक ग्रामको स्थापना गर्नलगायतका मागसहित मागपत्र बुझाएको उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश हमालले बताए ।