दैलेख । नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा, उत्तरतर्फ भर्ता लेक र तल घना वनजंगल छन् र बस्तीमा फाट्टफुट्ट घरहरू । यहीबीच अवस्थित छ मदान ताल । ताल अवलोकनले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ, आनन्दित तुल्याउँछ । तर उचित प्रचार प्रसार र पूर्वाधार अभावले यस क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन ।
दैलेखको पश्चिम क्षेत्र ठाटीकाँधको विशालास्थित यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यस्तै केही संख्यामा बाह्य पर्यटकले समेत तालको अवलोकन गरेका छन् ।
जिल्लाकै सबैभन्दा ठूलो यो तालमा पर्यटन विकासको राम्रो सम्भावना छ । तर यसतर्फ सम्बन्धित निकायको ध्यान अझै पुगेको छैन ।
दुर्गम क्षेत्रमा भएकाले पनि तालसम्म पुग्ने बाटो स्तरीय छैन । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको रामघाटबाट विशाला बाँहाकोट पुगिन्छ । बाँहाकोटबाट करीब १ घण्टा पैदल यात्रा गरेपछि मदान ताल पुग्न सकिन्छ । तर सार्वजनिक सवारीसाधनको सुविधा नहुँदा यहाँ पुग्न गाडी रिजर्भ नै गर्नुपर्ने बाध्यता छ ।
यो तालमा वसन्त ऋतुको समयमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । पश्चिम दैलेखका अधिकांश विद्यालय पिकनिकका लागि यहाँ पुग्ने गरेका छन् ।
फागुन–जेठको समयमा काफल, ऐंसेलु, चुत्रा लगायत फल पाइने र गुराँस फुल्ने भएकाले यो सिजनमा तालमा जानेको संख्या बढी हुने गरेको स्थानीयवासी बताउँछन् ।
स्थानीय प्रकाश शाहीका अनुसार हालसम्म गाउँपालिकाको कार्यालयदेखि मदान तालसम्म सीधा सडक जोडिएको छैन । गाउँपालिकाको कार्यालयदेखि यहाँ पुग्न ४–५ घण्टा हिँड्नुपर्छ ।
तालसम्म पुग्ने सहज बाटो नभएकाले पर्यटन प्रवद्र्धनमा चुनौती भएको अर्का स्थानीय खेमराज गौतमले बताए ।
तालको संरक्षण र विकासका लागि केही वर्षपहिले संघीय पर्यटन मन्त्रालयबाट रू. ३० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटले केही काम गरिएको थियो ।
जीर्ण तालको मर्मत सुधार गरिएपछि केही महीनाका लागि आन्तरिक पर्यटकको महत्त्वपूर्ण वनभोज स्थल बनेको वडा नं –३ का अध्यक्ष कर्णबहादुर शाहीले बताए । तालको संरक्षण र विकास वडा तहको बजोटले मात्र सम्भव नभएको उनको भनाइ छ ।
जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धनमा सघाउने उद्देश्यले २०६६ सालदेखि दैलेख महोत्सव सञ्चालन हुँदै आएको छ । तर यो तालको संरक्षण र विकासमा हालसम्म ठोस काम हुन सकेको छैन । यस क्षेत्रका दर्जनौं पर्यटकीय स्थलबारे अधिकांशलाई जानकारी समेत छैन ।
स्थानीय सरकारले तालको नाम गाउँपालिकाको साइन बोर्डमा समावेश गरे पनि विकासका लागि योजना भने ल्याउन सकेको छैन । पंखबहादुर शाहीले राष्ट्रिय आर्थिक अभियान दैनिकमा लेख्नुभएको छ ।