मुगु । चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ ।
मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् ।
दशैं सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका गाडीहरु बाक्लो रुपमा देखिन थालिएको स्थानीयवासीले बताएका छन् ।
रारा तालले मौषमअनुसार दिनमा निकै चोटि रंग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । त्यही रंगफेर्ने रारातालको पानीको रंगमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।
मुगु रारा तालकाे सुन्दर तस्वीर ।
अनि रारा साँच्चिकै स्वर्गको अप्सरा जस्तै देखिन्छ र पर्यटकलाई मनै लोभ्याएको हुन्छ । काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका डा अशोक महासेठले यस्तै अनुभव गरे ।
दशैंयता मात्रै ५ हजारभन्दा बढी पर्यटकले रारा र सिञ्जा अवलोकन गरिसकेको प्रहरी चौकी गोठीज्यूलाको अनुमान छ । सिञ्जा क्षेत्रको गोठीज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मबजार, राराताल र जुम्लाको खलंगा बजार तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा अहिले रारा जाने र फर्किने पर्यटकको भीड बढेको व्यावसायीहरु बताउँछन् ।
नाग्म–गमगडी राजमार्गमा पर्यटक सवार गाडीहरु बाक्लो रुपमा गुडिरहेका छन्, तर हिलो र धुलोले सास्ती व्योहोर्नु परेको पर्यटकहरु बताउँछन् । कनकासुन्दरी गाउँपालिका–३ सिञ्जामा रहेको राराटफ शोभा होटलमा अहिले रारा जाने र आउने पर्यटकलाई खाना खुवाउन र बास बसाल्न चटारो भएको होटलका सञ्चालक भक्तबहादुर बुढाले बताए ।
गोठीज्यूलामा अहिले करीब तीन दर्जन बढी सानातिना होटल रारा र सिञ्जा आउने पर्यटकले धानेका छन् । यो राजमार्गमा बढीजसो स्कार्पियो गाडी लिएर पर्यटक आउने गरेका छन् । स्कार्पियो कच्ची बाटोका लागि बलियो भएकाले धेरैजसो स्कार्पियो गाडी आउने गरेको स्थानीय चालक मोती न्यौपानले बताए ।
यसैगरी रारा जाने पर्यटक फर्किँदा वा आउँदा एकपटक प्रायःगरी जुम्ला बजारमा आउने गरेका छन् । यहाँको सिञ्जा सभ्यतासहित सदरमुकाममा रहेको ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य गुम्बा, स्याउ बगैंचा, तातोपानीलगायत विभिन्न सम्पदामा पर्यटक रमाउने गरेका छन् ।
केही पर्यटक तत्कालीन विशाल साम्राज्यको राजधानी सिञ्जा र यहाँको कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरबारदेखि विभिन्न पुरातात्विक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको सिञ्जा कनकासुन्दरी–४ का सूर्यमणि हमालले जानकारी दिए । उनका अनुसार रारा र सिञ्जामा दशैं र तिहारमा मात्रै करीब २० हजार पर्यटक आउने गर्दछन् ।
सडक स्तरवृद्धि भए समृद्धि
रारा आउने पर्यटक बढे पनि सडक स्तरवृद्धि नहुँदा आएर फर्किने मानिस फेरि नफर्किने गुनासो गर्दै आएका छन् । तर कर्णाली राजमार्ग दुईलेन, नाग्म–गमगडी राजमार्ग कालोपत्र भएमा पर्यटक अहिलेको भन्दा तीन गुणा बढ्ने अनुमान छ ।
सोहीअनुसारको आर्थिक लाभ स्थानीय होटल व्यावासायी र किसानले लिनेछन् । यहाँको अर्गानिक स्याउ, सिमी, ओखर, मार्सी चामल विक्री उत्तिकै बढ्नेमा दुईमत छैन । रासस