काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र मार्फत जलविद्युत, पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न दातृ निकायसँग आग्रह गरेका छन् ।
अन्तरराष्ट्रिय वित्त निगमका एशिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीसँग सोमवार भएको भेटमा नेपालको अर्थतन्त्रको सम्भावनाबारे चर्चा गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले दुबै निकायका अधिकारीहरुलाई नेपालले क्रेडिट रेटिङको काम शुरु गरेको जानकारी गराएका छन् ।
यस्तै, विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा मन्त्री खतिवडाले नेपालमा बचत र लगानीबीच ठूलो अन्तर रहेकाले त्यसलाई घटाउन विदेशी पूँजी परिचालन आवश्यक रहेको बताएका छन् ।
नेपालको पूँजी बजार सानो रहेकाले यसलाई बढाउनुपर्ने आवश्यकता रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ । आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री खतिवडाले निजी क्षेत्रलाई थप सबल, सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधीकरण गर्नुपर्ने उल्लेख गरे ।
यसैगरी छलफलमा उनले विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने सम्भावित प्रतिकूलता सामना गर्नुपर्नेतर्फ सजग रहेको पनि जानकारी गराएका छन् ।
अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तरराष्ट्रिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेको उनले बताए ।