सुर्खेत । कर्णाली राजमार्गमा राती १० बजेपछि यातायात साधन चल्न बन्द गरिएको छ । विगतमा राती पनि सवारी साधन चल्ने गरेको कर्णाली राजमार्गमा रातीको समयमा यातायातका साधन चलाउन बन्द गरिएको हो ।
चाडपर्वलाई लक्षित गर्दै बिंग्रिदै गएको राजमार्गमा यात्रुहरुको सुरक्षाका लागि राति १० बजेपछि यातायात साधन चल्न जिल्ला प्रहरी कार्यालय कालिकोटले बन्द गरेको हो ।
कर्णाली राजमार्गको सडक साँगुरो भएको र अधिकांश ठाँउहरुमा दुईवटा गाडीलाई क्रस गर्न आधा किलोमिटरसम्म ब्याग जानुपर्ने बाध्यता भएका कारणले रातीको समयमा यातायातका साधन चल्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलीयाले बताए । ‘सडक मर्मत सुधार नहुँदा ठाँउ ठाँउमा खाल्डा खुल्डी परेको छन् ।’ उनले भने,‘बढी दुर्घटना हुन सक्ने जोखिमयुक्त सडक भएकाले राति १० बजेपछि यातायात सेवा बन्द गरिएको छ ।’
सडकको अवस्था र दुर्घटनाको जोखिमका कारण राजमार्गमा गुड्ने सम्पुर्ण सवारी साधनहरुलाई राति १० बजेपछि गुड्न नदिइने प्रहरी प्रमुख ओलियाले बताए । ‘जुम्लातिर जाने गाडीहरुलाई जिल्ला सदरमुकाम नजिकैको प्रहरी चौकी ताडीले रोक्ने र सुर्खेत जाने सवारी साधनहरुलाई हुल्म प्रहरी चौकीले रोक्ने गरिएको छ ।’ उनले भने,‘कर्णाली राजमार्गको कालिकोट खण्ड शेरीघाटदेखि दहिखोलला, मान्मदेखि बिहानी खोला र खल्लागाडदेखि नाग्मासम्मको सडकलाई जोखिमयुक्त ठाँउ भनेर पहिचान गरिएको छ ।’
दुईवर्ष अगाडिसम्म कर्णाली राजमार्गमा राति ७ बजेपछि सवारी साधन संचालनमा रोक लगाइएको थियो । मुलुक नयाँ संरचनामा गएसँगै बनेको कर्णाली प्रदेश सरकारले कर्णाली राजमार्गमा २४ सै घण्टा यातायात गुड्न दिने निर्णय गरेपछि २०७५ साल असोजदेखि कर्णाली राजमार्गमा २४ सै घण्टा यातायात सेवा संचालन गरिएको हो ।
प्रहरीले पुन सडक दुर्घटनाको जोखिमका कारण राति १० बजेपछि राजमार्ग बन्द गरेको हो । दसैं र तिहारलाई लक्षित गरी कर्णाली राजमार्गमा राति १० बजेपछि सवारी आगमन बन्द गरिएको प्रहरी प्रमुख ओलियाले बताए । ‘राजमार्ग नै जोखिमयुक्त रहेकाले सधैं राति १० बजेपछि सवारी साधनहरुलाई चल्न रोक लगाउने निर्णय गरेका छौँ ।’ उनले भने,‘अर्को निर्णय नभएसम्मका लागि अहिले रोक लगाइएको छ ।’
राजमार्गमा गाडीको चाप बढ्यो
कर्णाली राजमार्गमा गाडीको चाप बढेको छ । नेपालकै चर्चित पर्यटकीय क्षेत्र मुगुमा रहेको रारा तालका कारण कर्णाली राजमार्गमा गुड्ने गाडीको चाप बढेको हो ।
जिल्ला ट्राफिक कार्यालय कालिकोटका अनुसार सधैंजसो नियमित रुपमा कर्णाली राजमार्गमा गुड्ने गाडीहरु दैनिक रुपमा ४५ देखि ५० सम्म कार्यालयमा इन्ट्री हुन्थ्ये । तर आज भोलि राराको सिजन सुरु भएपछि त्यो संख्या ह्वात्तै बढेर १ सय २० सम्म पुगेको छ ।
रारा ताल अवलोकनका लागि यो समय निकै उपयुक्त मानिन्छ । वर्षमा दुई चैत, बैसाख र असोज, कात्तिक रारा अवलोकनका लागि उपयुक्त समय हो । सिजन सुरु भएपछि कर्णाली राजमार्गमा गुड्ने गाडीहरुको संख्या बृद्धि भएको हो ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार असोज महिना लागेसँगै प्रतिदिन न्यूनतम १ सयदेखि १ सय २० सम्म गाडीहरु इन्ट्री भएका छन् । यसरी हेर्दा प्रति दिन ५० देखि ६५ सम्म नयाँ गाडीहरुको आगमन भएको छ । जुन गाडीमा सवार प्रति गाडी सरदर १० जनाले मात्र पनि दैनिक एक हजारदेखि १ हजार ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको छ । दैनिक रुपमा ८०∕९० वटा नयाँ बाइकहरु राजमार्गमा गुड्न थालेका छन् ।