सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर चीन सरकारसँग अनुदान वा ऋण लिएर पनि बनाउने बताएका छन् । मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ज्वालाले कर्णाली करिडोर यहाँको लाइफलाइन नै भएका कारणले कर्णाली समृद्धिका जसरी पनि बनाउने बताएका हुन् ।
कर्णाली प्रदेशको लाइफलाइन र त्रिदेशीय व्यापारिक नाका भएकाले चीन सरकारसँग अनुदान वा सस्तो ऋण लिएर बनाउन सकिने मन्त्री ज्वालाले बताए । ‘कर्णाली समृद्धिका लागि हामीले उत्तर र दक्षिण जोड्ने सडक यही हो ।’ उनले भने,‘ सडक नेपालका लागि उच्च महत्वको भएको बताउँदै चीनका लागि पनि प्राथमिकतामा रहेको छ ।’
कर्णाली करिडोरका बिषयमा चिनियाँ राष्ट्रपतिले चासो दिएका कारणले यो सडकको महत्व कति छ भन्ने कुरा दुबै देशका लागि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री ज्वालाले दाबी गरे । ‘दुई देशबीचको सम्झौतापत्रको बुँदा नम्बर पाँचमा यो विषय समेटिनु हाम्रा लागि गौरवको कुरा हो ।’ उनले भने,–‘चीनले सील्क रोडको अवधारणा ल्याएका कारणले यो सडक बन्नेमा सबै ढुक्क भए हुन्छ ।’
कर्णाली करिडोर व्यापारिक दृष्टिले तथा पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण सडकको रुपमा चीनले लिएको कर्णाली सरकारको विश्वास रहेको मन्त्री ज्वालाको भनाई छ ।